१ साउन, काठमाडौं।
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार भर्ना गरेको छैन ।
कोरियाले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको श्रम मन्त्रालयको भनाइ छ ।
‘रोजगारीको अवसरलाई ध्यान दिई कोरियाको सर्तलाई मन्त्रालयले स्विकारेको छ,’ श्रम सचिव सूर्यप्रसाद गौतमले भने, ‘१६ महिनादेखि रोकिएको कामदार लैजाने प्रक्रिया अब छिट्टै सुरु हुन्छ ।’
श्रम मन्त्रालयले कोरिया जान नपाएपछि संगठित कामदारका प्रतिनिधिसँग छलफल गरेपछि कोरियाका सर्त स्विकारिएको हो । नेपालले आफ्ना सर्त स्विकारेपछि कोरियाले पहिलो चरणमा प्रतिबद्ध कामदारलाई लैजाने तयारी गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए ।
प्रतिबद्ध कामदार ३ हजार छन् । चार वर्ष कोरिया बसेर फर्केका कामदारलाई सोही रोजगारदाताले चाहेमा प्रतिबद्ध कामदारका रूपमा लैजान पाउँछन।
‘पहिला नै रोजगारदातासँग प्रतिबद्ध कामदारको करार सम्झौता भइसकेको छ । उनीहरूका साथमा भिसा पनि छ । भिसाको म्याद सकिएको रहेछ भने स्वतः नवीकरण हुन्छ,’ महानिर्देशक दवाडीले भने, ‘अब उताबाट पठाई दिनुस् भन्नासाथ हामी कामदार उडाइदिन्छौं । त्यसको सबै तयारी सकिइसकेको छ ।’ कोरियाले नेपाललाई कोभिडको जोखिमको ‘पहेंलो सूची’ राखेको छ ।
‘अन्य देशले पनि कोरियाको सर्तलाई मानेको देखियो । सर्त मान्ने देशबाट कामदार मात्रै कामदार लैजाने नीति कोरियाको छ,’ दवाडीले भने, ‘लागत खर्च बढ्ने भए पनि कामदारको आपत्ति छैन । खुसी नै देखिएका छन ।’
सामान्य अवस्थामा कोरिया जाने कामदारको लागत खर्च ८ सय १६ डलर (करिब ९० हजार रुपैयाँ) लाग्ने गरेको छ । १४ दिनको क्वारेन्टाइन र सिधा हवाई उडान भएपछि लागत खर्च झन्डै तेब्बरसम्म पर्न आउँछ । सामान्यतः कोरियाको थ्रीस्टार होटलको प्रतिदिन खर्च ६५ डलर छ ।