१० साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिएका छन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सृजना गर्न खोजियो भने युथ फोर्सले त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने महासचिव पोखरेलको आग्रह छ ।
युथ फोर्स भ्याली कमाण्डको शनिबार काठमाडौंमा घोषणा गर्दै उनले युथ फोर्स आतंकको स्रोत नभएको स्पष्ट परे । उनले भने, “युथ फोर्स आतंकको स्रोत होइन् । तर कोही आतंक सृजना गर्छ भने त्यसलाई जवाफ दिने शक्ति हो यो । हिंसाका पक्षपातीहरुलाई ठिक लगाउने शक्ति हो यो । हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानुनको शासनलाई मान्छौं । तर मुलुकमा कानुनी शासनलाई खतम बनाउने कोसिस गरियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउने कोसिस गरियो भने अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजियो भने त्यसलाई रोक्न युथ फोर्स लाग्नु पर्दछ ।”