‘बलेवामा हवाईजहाज सरर…’

११ साउन ७८, मंगलबार

१२ साउन, बागलुङ ।
बलेवाली मायाको चिनो !
चिनो हेरे हुन्छ मन मलिनो
मेरो माया जन्मेको घर
बलेवामा हवाई जहाज सर

जाम्ला माया बलेवा तिर
कुश्मा, बेनी, बागलुङ घुमफिर

करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यस लगत्तै यो गीत बजारमा ल्याएका थिए । विमानस्थलको धावनमार्गमै छायाङ्कन गरिएको यो गीतमा बलेवा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विशेषता समावेश गर्दै विमानस्थलको उपयोगिताको चर्चा पनि छ ।

गीतमा भनिए जस्तै विमानस्थल विसं २०७४ चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आयो । यसअघि धवलागिरि अञ्चलको सदरमुकाम बागलुङबाट पश्चिमको प्रमुख शहर एवं पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुुकाम पोखरा तथा राजधानी काठमाडाैंलाई जोड्न हवाईजहाज बाहेकको अर्को विकल्प नरहेकामा विसं २०४८ मा पोखराबाट बागलुङ बजार सडक सञ्जालले जोडिएपछि विमानस्थल बन्द भएको थियो । विसं २०७४र७५ मा बलेवामा हप्तामा दुईदिन हवाईजहाज सरर उडे । बागलुङ नगरपालिकाले एयरलायन्स कम्पनीहरुको क्षति बेहोर्ने गरी सम्झौता गरेरसमेत एक वर्षमा जहाज सञ्चालन गर्‍यो ।

जहाज चढी बलेवा झर्नी हो
देवी थानको दर्शन गर्नी हो

एशियाकै अग्लो पुल तरौंला
भैरव थानको दर्शन नि गरौंला

प्रायः पहाडी बाटो रहेको पोखरा पश्चिमको भेगलाई पोखरा र अन्य शहरसँग जोड्न आवश्यक त छँदैछ त्यसबाहेक पनि यहाँ हवाईयात्राको आवश्यकता यस क्षेत्रको पर्यटकीय विकासका लागि देखिन्छ । पूर्ण परियारले गीतमा भनेजस्तै पश्चिमका प्रसिद्ध धामहरु बलेवा भैरवस्थान र बागलुङ कालिका, पञ्चकोट, जैमिनी ऋषिको धाम पुग्न पनि यहाँ विमान अवतरण भए सजिलो हुन्छ । मुक्तिनाथ जान पनि जोमसोम एक मात्र विमानस्थल छ र कहिलेकाहीं मौसमको खराबी या अन्य कारण उडान नभएमा बलेवाबाटै जानुपर्छ ।

त्यस्तै पछिल्ला वर्षहरुमा यहाँ बञ्जीजम्प, स्काई साइक्लिङ, नेपालका सबैभन्दा लामा र अग्ला झोलुङ्गे पुल, यान्त्रिकपुल, भकुण्डे भ्यूटावर आदि सञ्चालनमा छन् । यी पर्यटकीय संरचना र स्थलको अवलोकन पनि बलेवामा विमानस्थल सञ्चालनमा आउँदा सहज हुनेछ ।

साविकको धवलागिरि अञ्चलमा मुस्ताङको जोमसोम विमानस्थल मात्रै सञ्चालनमा छ । मौसमको खराबीका कारण पटक–पटक उडान अवरुद्ध हुँदा विकल्पका रूपमा बलेवा विमानस्थल प्रयोग गर्न सकिने नागरिक उड्डयनका जानकारहरु बताउँछन् । बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामदेखि नजिकै रहेकाले पनि यो विमानस्थलमा यात्रुको खाँचो नहुने बलेवाका स्थानीय भरत पौडेल बताउँछन् ।

विसं २०१९ देखि यहाँ उडान शुरु भई नियमित रहेकामा विसं २०४८ मा पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग सञ्चालनमा आएपछि बन्द भयो । त्यतिबेला यहाँबाट पोखरा, भैरहवा, काठमाडौँ र जोमसोमको उडान हुन्थ्यो । सडक पुगेपछि जिल्लाबाट पोखरा र काठमाडौँको यात्रा सडकबाटै सम्भव भएपछि विमान बन्द भएको हो । त्यसबीचमा बन्द विमानस्थल सञ्चालन गर्न धेरै पटक पहल भयो तर सम्भव भएन । चार वर्ष पहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलको चर्चा भयो, जहाज आयो र सरकारले विमानस्थल सुधारका लागि लगानी पनि गरेको छ ।

जहाजमा बलेवाबाट पोखरा १३ मिनेटमा नै पुग्न सकिन्छ भने काठमाडौं २५ मिनेट । बलेवा विमानस्थल पहाडी उडानका लागि किन महत्वपूर्ण गन्तव्य मानिन्छ भने यहीँबाट ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिन्छ । पर्यटनका जानकारहरु मुस्ताङको ‘गेटवे’ पनि यसैलाई मान्ने गरेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यो विमानस्थल सहयोगी बन्नसक्छ ।

बेरुजुको भारी बोकेर नगरले सम्झौता बढाउन सकेन र विमानस्थल फेरि बन्द भयो । बन्द भएको विमानस्थलले अहिले भने स्वरूप फेर्ने काम गरिरहेको छ । ‘हामीले रु २० लाख खर्चेर एक वर्ष जहाज चलायौँ, त्यसैको उपलब्धि अहिले धावनमार्ग कालोपत्रको काम चलिरहेको छ’, बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेल भन्छन्, ‘पक्की विमानस्थलमा सबैखाले जहाज चल्छन्, जहाज उडानको सम्भावना अहिले नै टरेको होइन बढेर गएको छ ।’

कच्ची धावनमार्ग भएका कारण यसअघि नेपाल एयरलायन्स र तारा एयरलायन्सले मात्रै यहाँ उडान गरेका थिए । अन्य कम्पनीका जहाज कच्ची धावनमार्गमा चल्न मानेनन् । हरेक उडानमा नपुग यात्रुको भाडा नगरपालिकाले तिर्ने गरेको थियो । कयौंपटक खाली जहाज चल्दासमेत नगरले भाडा तिरेर नियमित ग¥यो । फलस्वरूप धावनमार्ग कालोपत्रका लागि नागरिक उड्डयन प्राधिकरण बाध्य भएको पौडेल बताउँछन् ।

विसं २०७६ मा एक वर्षमा सक्ने गरी धावनमार्ग कालोपत्रको काम शुरु भयो तर बलेवा विमानस्थल यो वर्षको असार मसान्तसम्म पनि कालोपत्र हुन सकेन । कहिले काम गरिरहेका मजदुरहरु एकाएक लकडाउनको कारण देखाउँदै घर हिँड्ने त कहिले कालोपत्र बोकेर ल्याउने बाटो अवरुद्ध भएका कारण समयमा काम हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थलको धावनमार्ग ग्रेडिङको काम सकिएको छ । बेस, सवबेस हाल्ने काम पनि सकियो । अब कालोपत्रको काम मात्रै बाँकी रहेको निर्माण कम्पनी बताउँछ । असारको पहिलो साताकै पानीले बाटो बिगारेको र सामग्री बाहिरबाट ल्याउन टिपर नचलेका कारण र बाहिरबाटै कालोपत्र पकाएर ल्याउनुपर्ने भएकाले समय लागेको सो कम्पनी बताउँछ ।

पछिल्लो पटक थप भएको म्याद असार मसान्तमा सकिएको र छ महिना थपिएको म्यादसमेत सकिएपछि प्राधिकरणले पुनः तीन महिना म्याद थपको तयारी थालेको छ । ‘असोजसम्ममा कालोपत्र काम सक्ने गरी म्याद थपको तयारी छ’, बलेवा विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, ‘अवरोधहरु धेरै भएकाले निर्माण कम्पनीले समयमा काम सक्न पाएन, अब धेरै काम छैन ।’

अहिलेसम्म बलेवा विमानस्थलमा सानो ट्वीनअटर जहाज मात्रै चल्न सक्ने अवस्था थियो । धावनमार्ग कालोपत्र भएपछि आइकाओको मापदण्डअनुसारका जहाज चल्ने संरचना तयार हुने ओझाले बताए । ‘हामीले गर्ने पूर्वाधार निर्माणको काम हो, जहाज चलाउने कम्पनीले हो’, ओझाले भने, ‘एनएस–२४ आइकाओको मान्यताअनुसारको दुर्गमको विमानस्थलको मापदण्डमा बलेवा विमानस्थल तयार हुन्छ ।’

नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड विनियोजन गरी निर्माण अगाडि बढाएको हो । विमानस्थलको ७०० मिटर लम्बाइ ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र हुने निर्माण कम्पनीले जनाएको छ । धावनमार्गकै कारण जहाजले नियमित उडान गर्न नसक्ने भएकाले कालोपत्र गरेर नियमित उडान गर्ने योजनाअनुसार काम थालिएको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताए ।

विमानस्थलसम्म पुग्ने सडक कालोपत्र नहुँदा समस्या हुनसक्ने भएकाले बागलुङ बजारबाट विमानस्थलसम्मको सडक कालोपत्रका लागि सडक विभागलाई अनुरोध गरिएको बागलुङ–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । विमानस्थल कालोपत्रको काम सकिँदा बागलुङ–कुश्मीशेरा सडक कालोपत्रको काम पनि सकिने भएकाले विमानस्थल सञ्चालनमा आउने स्थानीयवासीको विश्वास छ ।

त्यसयता विमानस्थल खेलमैदान र गौचरन थियो । अहिले कालोपत्रको काम चलिरहेको देख्दा बलेवामा फेरि जहाज आउने आशा पलाएको स्थानीयवासी लालप्रसाद शर्माले बताए । ‘हाम्रा बाउबाजेले कुटो कदालोले बनाएको मैदान, बाँझो पल्टेको देख्दा कम दुःख लागेको थिएन’, शर्माले भने, ‘अहिले मेसिन चलेका छन्, धमाधम काम भइरहेको देख्दा खुशी लागेको छ ।’

‘रनवे’ धावनमार्ग कालोपत्र गर्ने तयारी हुँदै गर्दा विसं २०४८ अघिको जस्तै उत्साह स्थानीयवासीमा छ । ‘अब जहाज चलाउनैपर्छ, वारिपारिका शहर बढ्दैछन्, बस्ती विकास हुँदा बलेवामा यात्रुको समस्या नहोला’, स्थानीयवासी उमानाथ सिग्देल भन्छन्, ‘सरकारले पहल गरोस्, हामी स्थानीयवासी उत्साहित छौँ ।’ बलेवा विमानस्थलले धेरै क्षेत्रमा प्रभाव राख्न सक्छ । विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इञ्जीनियर चिरञ्जीवी खड्काले जानकारी दिए ।

राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल बागलुङ बजारबाट १३ किलोमिटरको दूरीमा छ । हवाईसेवा नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनतालाई सुविधा पुग्नेछ ।

‘वर्षामा बाटो बिग्रिन्छ, बिरामी अस्पताल लैजानसमेत कठिन’, जैमिनी नगरपालिका–८ छिस्तीका राजेन्द्र पौडेलले भने, ‘जहाज चले सिधै काठमाडौँ, पोखरा जान सकिन्थ्यो ।’ बलेवा विमानस्थल बागलुङको चर्चित ठाउँ बलेवाको पहिचान हो । पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास भइरहेकाले आन्तरिक उडानका लागि गण्डकी प्रदेशको वैकल्पिक विमानस्थलका रूपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ ।

तारानाथ आचार्य/रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top