राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

१३ साउन, सिन्धुली ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाले बनाएको युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन् ।बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।

नेपाली सेनाले करिब रु सात करोड लगानीमा युद्ध सङ्ग्रहालय भवन र सजावटको काम गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.