१५ साउन, काठमाडौँ ।
सांसद पदमा पुनर्बहालीको माग गर्दै ४ जना पूर्वमाओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको भएपनि निवेदकको निवेदन बमोजिम स्थगित गरिएको सवोच्चले अदालतले जनाएको छ।
शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए । सर्वोच्च अदालत नियमावली–२०७४ मा ‘मुद्दाको पक्ष वा कानुन व्यवसायीले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कारण देखाई मुद्दा पेसीको दिनभन्दा अघिल्लो दिन निवेदन दिएमा प्रधान न्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूची प्रकाशन गर्दा नै स्थगित गर्न सक्नेछ ।’ भन्ने प्रावधान रहेको छ । उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिनेछ ।
यसअघि बिहीबार पेसी तोकिएकामा सुनुवाइका लागि समय अभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको थियो। तर निवेदकपक्षका कानुन व्यवसायीले स्थगित गर्न माग गरेपछि सुनुवाइ सरेको हो।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उनीहरुले सर्वोच्चमा दायर गरेको रिटमा आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गरेका छन् । उनीहरुले आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्।