काठमाडौँ : सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्री खाँणले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन निर्देशन दिनुभएको हो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।