दार्चुला तुइन प्रकरणकाे छानबिन टाेली एसएसबीसँगै आएको भन्दै प्रदर्शन

२२ साउन ७८, शुक्रबार
Share this
755shares

२२ साउन, दार्चुला ।
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोली एसएसबीसँगै आएको भनेर स्थानीयले प्रदर्शन गरेका छन् । व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल गएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका थिए ।

Advertisement

उनीहरुले राष्ट्रिय झण्डा र चन्द नेतृत्वको झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए । “एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन”, चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने, “आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन् ।”

आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ?, आफैँ अनुमान लगाउनुस्”, उनले भने

Advertisement

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली बिहीबार नेपाल र भारतका सुरक्षा अधिकारीसहित दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो । घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।

छानबिन समितिले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजना बनाएको छ । नेपालतिरबाट पैदलै हिँडेर जान सम्भव छैन । समितिले हेलिकप्टरमार्फत व्यासको मालगाउँ जाने तयारी गरेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top