चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने

चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने

३० साउन, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएअनुसार शुक्रबार हेलम्बु पुगेको प्राविधिकसहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग, नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानीय सरकारसँगको समन्वयमा गत असार १ र साउन १६ गतेको बाढीले बगाएका पुलमध्ये अत्यावश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने जानकारी दिएको हो । “प्राविधिक टोलीको सर्वेक्षणअनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा चार–पाँच मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौँ”, पोख्रेलले भने, “उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम शुरु गर्छौं ।”

उनका अनुसार हेलम्बुकै चुरेटार र थापाटार जोड्ने यान्त्रिक पुलको सर्वे भइसकेको र सँगै निर्माणकार्य थालिने छ । प्राधिकरण, सडक विभाग र नेपालीसेनाले संयुक्तरुपमा काम गर्ने हुँदा निर्माणकार्य थालिएको १५ दिनभित्रमा उक्त पुल सम्पन्न हुने पोख्रेलले बताए । पोख्रेलका अनुसार हेलम्बुको सर्वे सकेलगत्तै उक्त प्रविधिक टोलीले मेलम्ची र पाँचपोखरी क्षेत्रको सर्वे गरेर आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माणकार्य अघि बढाइने छ ।

“अबको चार–पाँच दिनमा बाटो क्लियर गरेर सामान लाने व्यवस्था मिलाउँछौँ”, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले भने, “दुई–तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी बाटो क्लियर गरेर सामान लाने तयारीमा छौँ ।” उक्त पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा, पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पूर्णरुपमा वञ्चित रहेको अध्यक्ष शेर्पाले बताए ।

असार १ गते र साउन १६ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पु¥याएको थियो । आजदेखि दुवाचौर मेलम्ची बगैँचासम्म बस सेवा सञ्चालन आजदेखि दुवाचौरबाट सेल्ले मेलम्ची बगैँचासम्म सिन्धु हेलम्बु यातायातको बस सेवा सञ्चालन हुने भएको छ । बिहान ८ः३० मा छुटेर दिउँसो २ बजे मेलम्ची बगैँचाबाट फर्कने मेलम्ची–७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । केही दिनमा सेल्लेमा बाटो मर्मतपछि बाँसखर्क जतन तथा बिचारीचौरमा मर्मतपछि पाल्चोक किउलसम्म बस सञ्चालन गरिने बताइएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.