९ भदौ, काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अइसीसी) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ। यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ। तेस्रो खेल अमेरिकासँग असोज १ मा खेल्ने छ। अन्तिम खेल असोज ३ मा ओमानसँग खेल्ने छ।
नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग दुई ओडिआई खेल्ने छ। नेपालले पहिलो खेल भदौ २० मा खेल्नेछ। दोस्रो ओडिआई भदौ २३ मा खेल्नेछ। नेपाली टोली मंगलबार ओमान पुगिसकेको छ।