१० भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी विभाजनपछि बिहिबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन केन्द्रित निर्णय गरेको हो ।
बैठकले पार्टीको संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको नेत्री निरु पालले जानकारी दिइन् । उनका अनुसार भदौ १६–२० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने, भदौ २५–२६ गते स्थायी कमिटी बैठक र २७–२८ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको छ ।
उनले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने पनि निर्णय गरिएको बताइन्।
देशैभरका सम्पूर्ण वडा अधिवेशन कात्तिक ६ गते गर्ने, देशैभरका पालिका अधिवेशन कात्तिक ९ गते गर्ने, १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको उनले उल्लेख गरिन् ।