महानगरपालिकाको कार्यालयमा फोहोर थुपारेर विरोध प्रदर्शन

महानगरपालिकाको कार्यालयमा फोहोर थुपारेर विरोध प्रदर्शन

काठमाडौँ : काठमाडौंको फोहोर नउठेपछि स्थानीयले काठमाडौं महानगरपालिकाको कार्यालय सुन्धारामा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् ।

तीन सातादेखि राजधानीका सडक किनारामा थुप्रिएको फोहोर उठ्न नसकेपछि फोहोरसहित विरोध प्रदर्शन गरिएको थियो । युथ कांग्रेसको नाममा भएको विरोध प्रदर्शनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउनुभएको छ ।

बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्ड साइट र सिसडोल ल्यान्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायीरूपमा फोहोर व्यवस्थापन गर्न सक्छौं ।’

केही दिनदेखि वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमितरूपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भइरहेको भन्दै शाक्यले भन्नुभयो– ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ । त्यही कारण केही दिनदेखि पूर्णरूपमा फोहोर उठाउन नसकेका हौं ।’

उहाँले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई स्वच्छ राख्ने प्रयासमा लाग्न सम्पूर्ण महानगबासीलाई अनुरोध गर्नुभयो ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.