१९ भदाै, सिरहा।
भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ । शनिबार बिहान एउटा अटोबाट इलाका प्रहरी कार्यालय लहानको टोलीले औषधी बरामद गरेको हो ।
बिहान राति सवा २ बजे लहान नगरपालिका-१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तपन दाहालका अनुसार बरामद भएको तीन खालको औषधी रहेको छ। रिकल—केटु—सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको उनले जानकारी दिए। ‘कागजात नभएकाले भन्सार छलेर ल्याइएको भन्ने बुझिन आएको छ,’ दाहालले भने।
उनले बिहान राति आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको बताए । फरार व्यक्तिहरूकाे खोजी गरिरहेको प्रहरीले जनाएको छ ।