२० भदौ, काठमाडौं ।
प्रतिनिधि सभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि छुट्याइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा बोल्दै सांसदहरुले चिकित्सा शिक्षा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि व्यवस्था गरिएको छात्रवृत्ति दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेत समेत गराएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पु¥याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले चिकित्सा क्षेत्रको परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग माग गरिन्।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विश्वकर्माले गरिब र जेहेन्दार वर्ग विद्यार्थीका लागि छुट्याइएको छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन सरकारको ध्यानाकर्षण गराए। सांसद विश्वकर्माले सबै समुदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानुनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न ’चेतावनी’ दिए।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरुलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले पीछडिएका क्षेत्रको उत्थानका लागि सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।
बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समूदायका लागि छुट्याइएको छात्रवृत्ति दूरुपयोग हुन नदिन आफूहरु सचेत रहेको बताए। उनले मेडिकल शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आयोगको तर्फबाट सक्दो पहल भईरहेको पनि समितिलाई जानकारी गराए।
उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तर्गतका परीक्षाहरु संचालनमा ढिलाइ नहुने गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे। मंसीर, पुसभित्र सो संस्थान अन्तर्गतका सबै परीक्षाहरु लिने गरी सरोकारवाला पक्षहरुसँग छलफल गर्ने कामलाई अघि बढाइएको पनि गिरिले जानकारी दिए।