भीषण वर्षाका कारण कैयौँ बस्ती डुबानमा, अझै तीन दिन देशभर वर्षा हुने

भीषण वर्षाका कारण कैयौँ बस्ती डुबानमा, अझै तीन दिन देशभर वर्षा हुने

विराटनगर, असार २८
आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने भारी वर्षा हुनसक्ने सम्भावना पनि औँल्याएको हो ।

आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी असार २९ गते (शुक्रबार) देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बद्ली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको र सोही दिन दउँसो र राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि बताइएको छ ।

असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।

मौसमविद् शान्ति काडेलले अबको तीन दिन देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहनुपर्ने बताए । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा सबैभन्दा बढी ९३।६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौँमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौँको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ ।

बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौँका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ ।भीषण वर्षाका कारण आएको हनुमन्ते खोलाको बाढीले भक्तपुर र थिमिका कैयौँ बस्ती डुबानमा परेका छन् । बाढीका कारण ३ को मृत्यु भएको छ भने १५ घर ढलेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.