२२ भदाै, काठमाडाैँ ।
आज कुशे औँशी, अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भाद्र कृष्ण औँशीका दिनलाई बुबाको मुख हेर्ने दिनका रुपमा मनाइने चलन छ ।
पिता हुनेहरुले मिठो–मिठो खानेकुराहरु खुवाएर, बुबालाई सम्मान प्रकट गर्ने र खुशी साट्दै कुशे औँशी मनाउने गर्दछन् भने पिता नहुनेहरुले आजका दिन गोकर्णेश्वरमा गएर दिवंगत पिताको सम्झनामा पिण्डदान तथा तर्पण दिने र ब्राह्मणहरु बोलाएर सिदा दिने, भोजन गराउने र दक्षिणा दिइ विदा गर्दछन् । कुशे औँशीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण औँशीको नाम पनि दिइएको छ ।

कुशे औँशीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ । आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।

कोरोना महामारीको जोखिम रहेकाले गोकर्णेश्वरमा गत वर्षको झैँ कुनै विशेष कार्यक्रम नराखेपनि भक्तजनहरुको भीड लागेको छ भने पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ । आज वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले व्राह्मण, पुरोहितले ल्याएको कुश घर–घरमा भित्राउने र उक्त कुश, देव तथा पितृकार्यमा वर्षभर प्रयोग गर्ने गर्दछन् ।
