२२ भदौ, पोखरा ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् । पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए ।
मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भने ।
केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए । पाण्डेले भने,‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो ।’
२०५४ सालमा शक्ति आर्जन गर्न भन्दै वामदेव गौतमजीले पार्टी फुटाएको र २०५८ सालमा फेरि पार्टी एकता गर्दै महसुस गरेको पाण्डेले बताए । नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उनको भनाइ थियो । पाण्डेले भने,‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो । त्यसैले फर्कनुस् भन्न चाहन्छु । गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं ।’
पार्टी मिलाउन १० सदस्यीय कार्यदलले निकै दुःख गरेको र भित्री बाहिरी धेरै छलफल भएको पाण्डेको भनाइ छ । साउनको पहिलो हप्ता पार्टी मिल्यो भन्ने स्थितिमा पुगेको तर फेरि भाँडिदै पार्टी विभाजन भएर जाने अवस्थामा पुगेको उनले बताए ।