माधव नेपालप्रति ओलीको टिप्पणी- ‘कुहिएको फर्सी’ र ‘झरेको पात’

माधव नेपालप्रति ओलीको टिप्पणी- ‘कुहिएको फर्सी’ र ‘झरेको पात’

२२ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ’कुहिएको फर्सी’को संज्ञा दिएका छन्।

‘कहिले कहिले केही मान्छे नराम्ररी बिग्रन्छन्, फर्सी कुहिएझैं भित्रभित्र,’ नेपालप्रति लक्ष्य गर्दै ओलीले भने, ‘नेता नेता भन्नुहुन्थ्यो, मैले पनि भन्न भएन नेता कुहिएको छ है भनेर, तर भित्रभित्रै कुहिएको फर्सीभन्दा खतम भइसकेका।’

माधव नेपालले कहिल्यै पनि राजनीतिका कुरा नगरेको भन्दै ओलीले जहिल्यै सम्मान पुगेन र अपमान भयो भनेर गुनासो गर्ने गरेको बताए।

माधव नेपालले एमाले छाडेर एकीकृत समाजवादी पार्टी बनाएपछि एमाले अब राम्ररी अघि बढ्ने ओलीले दाबी गरे। ‘माधव नेपाल बिग्रिएका मात्र होइन, पतन नै भइसके,’ ओलीले भने, ‘अब माधव नेपाल बिनाको एमाले राम्ररी अघि बढ्छ।’

एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सम्बोधनका अधिकतम समय माधव नेपालप्रति खनिन खर्चेका थिए।

माधव नेपाल एमालेमा जन्मिएको कुपुत्र भएको दाबी गर्दै उनले झरेको पातझैं झरेको टिप्पणी गरे। एमाले नेतृत्वको सरकार ढाल्न माधव नेपाल माओवादी र कांग्रेससँग मिलेर हिँडेको उनको भनाइ छ।

अर्को प्रसंगमा ओलीले एमाले एकताका लागि दस बुँदे सहमतिमा उल्लेख गरिएको जेठ २ गते फर्कने सहमति जस्ताकोतस्तै लागु नहुने बताए। माओवादी र एमाले एकीकरण कायमै रहेको र नेकपाबाट प्रचण्ड गुट फुटेर गएको ओलीले टिप्पणी गरे।

‘एमाले र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुरा हो,’ उनले भने, ‘थुप्रै साथीहरू यसै पार्टीमा हुनुहुन्छ, यो पार्टीको अहिलेको नाम नेकपा एमाले हो, एकीकरणको निरन्तरता यही पार्टी हो।’

एमाले एकता गर्न बनेको दश बुँदे समझदारी समस्या समाधान गर्ने उपायमात्र भएको उनले बताए। ‘जे गर्दा समस्या समाधान हुन्छ, त्यही हो दश बुँदे,’ उनले भने, ‘हामीले यसलाई उपयोग गर्दै भ्रममा परेका साथीलाई ल्याउनुपर्छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.