देशको पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशको पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२३ भदौ, काठमाडौं ।

मनसुनी वायुको प्रभावका कारण केही दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। आज पनि केही प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ।

भारी वर्षाको सम्भावनासँगै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको भनाइ छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.