एमसीसी पास हुनेमा उपाध्यक्ष सुमार आशावादी

काठमाडौं : नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्।

Advertisement

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरिन्।

स्रोतका अनुसार भेटमा उनले आफू नेपालमा एमसिसीका पक्षमा दबाब सिर्जना गर्न नभई यसको अवस्था बुझ्न आएको र नेपालले सकारात्मक निर्णय गर्नेमा आशावादी रहेको बताएकी छन्।

Advertisement

सुमारसँगको भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक परिवर्तनमा यसको महत्वबारे छलफल भएको जानकारी देउवाले दिएका छन्। भेटमा नेपाल–अमेरिका सहयोगका अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ।

सन् २०१७ मा आफ्नै प्रधानमन्त्रित्वकालमा सम्झौता भएको एमसिसीलाई कार्यान्वयन तहमा अघि बढाउन देउवा प्रतिबद्ध छन्। तर सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सबैसँगको सहमति र सम्झौता संंशोधन गरेरमात्र एमसिसी कार्यान्वयन तहमा अघि बढाउनुपर्ने अडान राखेका कारण देउवाको मात्र चाहनाले यो संसद्बारा पारित हुने अवस्था छैन।

Advertisement

एमसिसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटिन्। भेटमा अध्यक्ष दाहालले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएरमात्र अगाडि बढ्न सकिने बताए। दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

दाहालले अग्रगमनकारी वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेकोसमेत बताएका थिए। सत्तारुढ गठबन्धनबीच पनि एमसिसीबारे साझा धारणा बनाएर अघि बढ्ने समझदारी भएको दाहाल निकट स्रोतले जानकारी दियो।

एमसिसीलाई अघि सारेर गठबन्धन भत्काउने प्रयास भइरहेको र त्यसमा सचेत हुँदै साझा धारणा बनाउने समझदारी भएको जनाइएको छ। भेटमा सुमारले आफू नेपालमा कुनै दबाब दिन नभई एमसिसीको अवस्था बुझ्न आएको बताएकी थिइन्।, यो समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top