३१ भदाै, काठमाडौं ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे प्रतिवद्धताबाट पार्टी नेतृत्व पछि नहट्ने बताएका छन्। बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले१० बुँदे सुझावहरुलाई सृजनात्मक ढंगले लागू गर्नुपर्ने बताए ।
उनले १० बुँदे सहमतिमा ‘पोलिटकल सेन्स’ले काम गरेकाले यसमा कुनै ‘इफ बट नहुने’ उल्लेख गरे। उनले सबै नेता कार्यकर्ता पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु पर्ने बताए। उनले भने, ‘पार्टीको पक्षमा नउभिने कुरा हुन्छ भने हामी एकताको पक्षपाति हुन सक्दैनौं । एकताको कुरागरी रहने सबै साथीहरुको अगाडि एउटा चुनौतिपूर्ण अभिभारा छ।’
पोखरेलले पार्टीमा नेतृत्वलाई व्यवस्थित गर्नुपर्ने बताए। सबै नेताहरु नेतृत्वका लागि योग्य भएपनि योग्यहरु मध्येबाट योग्यतम् छनोट गर्नुपर्ने आजको आवश्यकता भएको उनले बताए।
गुटबन्दीमा लागेर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने, फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उनको भनाइ छ। एउटा गठबन्धन र अर्को एमाले भएको उनकाे भनाइ छ ।