३१ भदाै, काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलाउँदै गएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडाैँमा आयोजित एमाले जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई विमानसँग तुलना गर्दै उडेपछि सानो सानो हुँदै विलयको अवस्थामा रहेको बताए । उनले भने, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’
उनले माओवादीका कार्यकर्तालाई पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै एमालेमा आउन आह्वान गरे । ओलीले भने, ‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं । तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’
‘माओवादी केन्द्रमा नाममा प्रचण्डका साथमा जो हुनुहुन्छ, उहाँहरूलाई पार्टीमा फर्किन म आग्रह गर्न चाहान्छु, यो एकीकृत पार्टी हो,’ ओलीले भने । आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई ८ मन्त्रालय दिएको भन्दै अहिले २ वटा मात्र पाएर बसेको बताए । ‘प्रचण्डलाई मैले ८-१० वटा मन्त्री त दिएको थिएँ नि, धेरै खाउँला भनेर गएको हेर त ?’, उनले भने ।