१ असाेज, काठमाडौँ ।
भारतको पिथौरागढमा असोज ४ देखि १७ सम्म हुन लागेको नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्यास सुरु हुँदैछ । नेपाली सेनाले कोभिड–१९ का कारण झन्डै डेढ वर्षदेखि रोकिएको संयुक्त सैनिक अभ्यासमा सहभागी जनाउन लागेकाे हाे ।
सेनाले सैनिक सम्पर्क वृद्धि गर्ने तथा सीप र कलाहरू आदानप्रदान गर्ने उद्देश्यले दशकयता मुख्यगरी भारत, अमेरिका, चीन र बेलायतसँग अभ्यास गर्दै आइरहेको छ । कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिलाई अब अघि बढाउन लागेको सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनले भारतसँग संयुक्त सैनिक अभ्यासका लागि नेपाली टोली भाेली पिथौरागढ पुग्ने जानकारी दिए ।
भारतसहित अन्य मुलुकसँग गरिँदै आएको संयुक्त सैनिक अभ्यास सम्बन्धलाई पनि ती देशका सेनासँग गृहकार्य गरेर अघि बढाउने उनले प्रस्ट पारे । उनले भने ‘चीन र अमेरिकासँग संयुक्त अभ्यासको सम्बन्धमा गृहकार्य भइरहेको छ, अमेरिकासँग छिट्टै मिति तय हुनेछ भने चीनसँग केही समयपछि निर्णय गर्ने योजना छ,’ उनले भने । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएको थियाे ।
नेपालले उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको हो, जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको छ ।