२ असाेज, काठमाडौं ।
नेकपा एमालेका युवा नेता महेश बस्नेतले कम्युनिस्ट पार्टी नेताहरुकै स्वार्थले टुक्रिने गरेको भन्दै अब माओवादीका कार्यकर्तालाई एमालेमा समावेश गर्ने चरण शुरु भएको दावी गरेका छन् । शनिबार नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले कार्यकर्ता एकीकृत हुँदा स्वार्थको टकराब नहुने र पार्टी पनि बलियो हुने भएकाले प्रचण्ड–माधव निस्केपछि एमाले बलियो बन्दै गएको बताए ।
उनले भने– ”हामीले नेता मिलाएर एकता गर्न खोज्दा पार्टी मिलेन । यो एमाले नेकपा एकताको एमाले हो भन्ने कुरा यहाँ रामबहादुर थापा बादल कमरेडहरुको उपस्थितिले पुष्टि गरेको छ । निजामति कर्मचारीका प्रचण्ड पक्षमा रहेका ५१ प्रतिशत साथीहरु यहाँ जोडिनुभएको छ । अब तलैसम्म कार्यकर्ता मिलाउने हो ।”
बस्नेतले प्रचण्डले आफू विस्तारै एक्लै पर्न थालेको गुनासो गरेको भन्दै सेनाविहीन सेनापति बन्नु भन्दा पहिले नै गल्ती स्वीकार गरेर एमालेमा फर्किन आग्रह गरे । उनले भने– ”माओवादी केन्द्र प्रचण्डले भने जस्तै विघटन हुँदैछ ,पेशागकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ । त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ । गल्ती सच्याएर, कान समातेर एमालेमा आउनुस्, अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन । नत्र जति ढिला गर्यो उति तपाईको सान्दर्भिकता सकिनेछ ।”