खासा र केरुङमै थन्किए दसैंका सामान

४ असोज ७८, मंगलबार

काठमाडौं: दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैंमा बेच्न पाउने आश मारेका छन् ।

तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन । सीमा भन्सारका उच्च पदाधिकारबीच हुँदै आएको बैठक दुई वर्षदेखि बसेको छैन ।

चीनसँग जोडिएका यी दुई नाकालाई असजिलो पर्दा सघाउने वैकल्पिक मार्गका रुपमा हेरिने गरे पनि आयात–निर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन । यसको प्रभाव व्यापारिक कारोबारमा सबैभन्दा धेरै परेको छ । चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेल सरकारले आफ्नो प्रस्ताव प्रस्ट रूपमा राख्नुपर्ने बताउँछन् । चीनसँग प्रोएक्टिभ भएर आफ्ना कुरा राख्न सके समस्या हल हुने धारणा उनको छ । ‘समाधानसहितको प्रस्ताव राखेर छलफल गर्ने परिस्थिति बनाउने कर्तव्य सरकारको हो,’ उनले भने, ‘ठूलो समस्या छ जस्तो लाग्दैन ।’

चीनले कोभिड–१९ संक्रमणको मुख्य कारण देखाएर सीमा नाकाबाट नेपाल आयात हुने कन्टेनरलाई सीमित गर्दै आएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल २०१६ मार्चमा चीनसँग भएको व्यापार तथा पारबहन सम्झौतापछि आयात व्यापारका लागि दक्षिणको एकलौटी वर्चस्व हट्ने अनुमान गरिँदै आएको छ । तर चीनले यो वा त्यो बहानामा नेपाललाई असजिलो भएका बेला सहयोगी बन्न नसक्दा व्यापारिक कारोबार दक्षिणी नाका केन्द्रित हुन थालेको छ ।

चीनका लागि पूर्वराजदूत महेश मास्के नेपालले वैकल्पिक नाकाको रूपमा भरोसा गरेपछि चीनले पनि आफ्नो समस्या खुलाएर भए पनि सहज वातावरण बनाउनुपर्ने बताए । केरुङबाट रेल ल्याउने भएकाले चीनले तातोपानी नाकालाई धेरै प्राथमिकतामा नराखेको हुन सक्ने अनुमान उनको छ । ‘तर रेल आउने कहिले हो कहिले सडक यातायात सहज बनाएर व्यापारको वातावरण बनाउन दुवै मुलुकले गाँठो फुकाउनुपर्छ,’ उनले भने । आफूसँगको भेटमा चिनियाँ अधिकारीहरुले तातोपानी नाकाको भौगोलिक अवस्था कमजोर भएकाले मानव बसोबास गर्न उचित नहुने धारणा राखेको उनले बताए ।
सधैं समस्यामा व्यापारी

आयातमा लगाइएको सीमाका कारण यस वर्ष पनि दसैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानीतर्फको खासा र रसुवातर्फको केरुङमा थन्केको छ । सीमित कन्टेनरबाट हुने आयातका कारण दसैंको सामान काठमाडौं भित्रन महिनौं लाग्ने सम्बन्धित भन्सारका अधिकारीहरु बताउँछन् । उत्तरी नाकाको विश्वास गुम्दै गएपछि व्यवसायीहरु आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेका छन् । निर्यात व्यापारी सबै पलायन भएका छन् ।

व्यापारीहरुले नाका सहज बनाउन माग गर्दै ६–६ महिनामा प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर उत्तरको नाकाको समस्या दुवै मुलुकका सरकारको प्राथमिकतामा परेको देखिँदैन । निजी क्षेत्रले गर्ने अनुरोधलाई चीनले रेस्पोन्स गर्दैन । ,‘यसमा सरकारले ठोस योजनासहितको प्रस्ताव राखेको देखिँदैन । एक जानकारले भने, ‘बाहिर–बाहिर एउटा कुरा गर्ने यथार्थमा चुपचाप बस्ने भएपछि कसरी समस्या हल हुन्छ, ।’

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले नाका सहज बनाउन ज्ञापनपत्र बोकेर ढोकाढोका धाउन थालेको महिनौं बितेको अनुभव सुनाउँछन् । उनका अनुसार भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले स्थल नाकाबाट हुँदै आएको आयात–निर्यात व्यापारलाई निरुत्साहित गरेको देखिएको छ । उत्तरी नाकाबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य भएको उनी बताउँछन् ।

उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान पनि छोटो समयमा भित्रिने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । अध्यक्ष श्रेष्ठ प्रश्न गर्छन्, ‘दैनिक ८–१० वटा कन्टेनर छाडेर कति दिनमा सामान ल्याउने ? बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलबका कारण सयौं व्यापारी पेसाबाटै पलायन भएको उनले बताए । कतिपय व्यापारी विदेश पलायन भएका छन् । आयातित सामान समयमा भित्र्याउन नसके पुनः बिक्री गर्न कठिन हुने व्यवसायीको गुनासो रहेको छ ।

सीमाका संरचना प्रयोगविहीन

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार अरर्बौ खर्चेर लार्चामा बनाएको सुक्खा बन्दरगाहको प्रयोग १५ प्रतिशत मात्र भएको छ । सामान नआएपछि भवन सबै खाली छन् । उनले भने ‘माथिल्लो तहबाटै पहल गरेर सामानको आयात बढाउनु जरुरी छ ।’ उक्त बन्दरगाह चीनकै लागानीमा बनेको हो । बदरगाह जाने पुल पनि भोटेकोसीमाथि बनाइएको छ । दैनिक दुई सय भन्दा बढी कन्टेनर जाँचपास गर्ने क्षमता रहेको गौतमले बताए ।

यसैगरी रसुवा भन्सार हातमा दुई अर्बभन्दा बढी लगानीमा भौतिक संरचना बनिरहेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आयात–निर्यात व्यापारको अवस्थामा नसुधार्ने हो भने सरकारको लगानी खेर जान सक्छ । चीनले रसुवा नाकामा संरचना नभएकाले एकै पटक धेरै कन्टेनर छाड्न अप्ठेरो भएको नेपाली पक्षलाई बताउँदै आएको छ । रेग्मी भन्छन्, ‘अहिले संरचना नबन्दै पनि दैनिक सयभन्दा बढी कन्टेर जाँच पास गर्न सकिन्छ ।’

राजस्व संकलनमा ह्रास

आयात व्यापार न्यून भएपछि तातोपानी र रसुवा भन्सारको राजस्व संकलनमा ह्रास आएको छ । तातोपानीले गत आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशत र रसुवाले करिब ५० प्रतिशत राजस्व संकलन गरेको छ । उत्तरको व्यापार झन्डै ८० प्रतिशत नै दक्षिण गएको अनुमान व्यवसायीको रहेको छ । रसुवाका प्रमुख भन्सार अधिकृत रेग्मी आयात व्यापारमा सीमा तोक्न नहुने बताउँछन् । ‘हामी सामान्य अवस्थामा जसरी काम गर्न सक्छौं,’ उनले अगाडि भने, ‘व्यापार यसरी नै कम हुँदै जाने हो भने रसुवा सीमामा २ अर्बभन्दा बढी लगानी गरेर निर्माण गरिएको संरचना प्रयोगविहीन हुन सक्छ ।’

तातोपानी बन्द भएपछि २०७२ मंसिरदेखि रसुवा भन्सारको कारोबार बढेको हो । उनले नेपाली कन्टेनर पनि केरुङ जान दिनुपर्ने बताए । रेग्मीका अनुसार गत आर्थिक वर्षमा तीन अर्ब ५४ करोड राजस्व संकलन भएको थियो । यो लक्ष्यको ५० प्रतिशत मात्र हो । चालु वर्षका लागि ६ अर्ब २८ करोड लक्ष्य तोकिएको छ ।

चालु वर्षको दुई महिनामा एक अर्ब २० करोड संकलन भएको छ । तातोपानीका प्रमुख नारद गौतम सीमित परिणाम्मा हुने आयातले राजस्व वृद्ध हुन नसकेको बताउँछन् । उनका अनुसार सडक अवरुद्ध भइरहने समस्या छ भने आयात भएका सामान पनि भन्सार शुल्क मिनाहा हुने खालका छन् । कोभिडका बेला यो नाकाबाट स्वास्थ्यसम्बन्धी सामग्री पर्याप्त आयात भए पनि भन्सार शुल्क लाग्दैनथ्यो । आयत हुने सामान पनि ‘कमर्सियल वस्तु’ को परिमाण न्यून छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top