९ असाेज, पोखरा ।
कोरोना भाइरसका कारण शिथिल बनेको मर्दी हिमाल ट्रेकमा दुई वर्षपछि चहलपहल बढ्न थालेको छ ।
कोरोना भाइरस विरुद्धको खोप मानिसहरूले पाइसकेको र कोरोना भाइरस सक्रंमणको दर पनि घट्दै जानुका साथै बिस्तारै अब मौसम खुल्ने र भ्रमण गर्ने सिजन सुरु हुन लागेकाले मर्दी पर्यटन पदमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउन सुरु गरेको बताउँछन् मर्दी हिमाल लो क्याम्पमा पर्यटन व्यवसाय गर्दै आभएका खेम तामाङ ।
घुम्नको लागि अति उत्तम समय मानिने असोज र कात्तिक महिना घुम्ने सिजन पनि भएको र दशैँको बिदा सुरु हुँदा साथ पर्यटक आवागमन हुने ठानिएको छ ।
सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप उपलब्ध गराइसक्ने र अहिले पनि केहीले खोप पाइसकेकाले मर्दी क्षेत्रको पर्यटन बिस्तारै पहिलाकै अवस्थामा फर्किनेमा यहाँका पर्यटन व्यवसायी आशावादी रहेको मर्दी हिमाल हाई क्याम्पका पर्यटन व्यवसायी सुदीप गौतम बताउँछन् ।
पर्यटकलाई लक्षित गरेर मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन क्याम्प, पोथना, हाइक्याम्प, लो क्याम्पका होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाई खोलिएको छ ।
विशेष गरी दशैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । मर्दी पदयात्रामा जानेहरू पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।
छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो ।