१० असोज, काठमाडौँ ।
सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ ।
चालू आर्थिक वर्ष (आव) २०७८÷७९ को पहिलो २ महीनामा करीब साढे रू. ४४ करोडको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा रू. ४४ करोड २ लाखको १४२ ओटा जीप, कार र भ्यान आयात भएको छ ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको भन्सार बढाएर ४० देखि ८० प्रतिशतसम्म पु¥याएका थिए । भन्सार वृद्धिसँगै अघिल्लो वर्षको जेठदेखि भदौसम्म आयात ठप्पै देखिएको थियो ।
अघिल्लो आव २०७७÷७८ को १२ महीनाको अवधिमा जम्मा २४९ ओटा मात्रै विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए ।
उक्त अवधिमा नेपालमा रू. ६५ करोड ७८ लाखको विद्युतीय जीप, भ्यान र कार आयात भएको थियो । आव २०६६÷६७ मा विद्युतीय गाडीको आयात संख्या ६ सयभन्दा बढी थियो ।

