राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

१० असोज, काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका गएका परराष्ट्रमन्त्री डा.नारायण खड्का भेटवार्तामा व्यस्त छन् ।

उनले हिजो बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरे । उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे कुराकानी भएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएका नियोगले जनाएको छ । हिजो नै मन्त्री खड्काले ७६ औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरे ।

भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरेका हुन् ।

मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे । प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरे ।

परराष्ट्रमन्त्री खड्काले भोलि महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.