१२ असाेज, काठमाडाैँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’
सोमबारै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ,१ भदौमा सिफारिस गरेको थियो ।
२ भदौमा राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।