जो पटक–पटक बेचिइन्

१२ असोज ७८, बुधबार

इटहरी: उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा । घरबाट निकालिएपछि उनीहरू मामाघरमा बस्न थाले । पाँच वर्षको हुँदा आमाले दोस्रो बिहे गरिन् । अर्को बुबा पाए पनि उनले स्नेह भने कहिल्यै पाइनन् । उनी अपांगता भएको कारण देखाउँदै कान्छा बुबाले पनि आमालाई पिट्न थाले ।

आफ्नै कारण आमामाथि भइरहेको दुर्व्यवहार उनले देख्न सकिनन् र फर्किइन् पहिलेको आफ्नै घर दाङ । मेलापात, दाउरा, घाँस सकेर विद्यालय पुग्नुपर्ने । स्कुलमा भइरहने कार्यक्रममा गीत गाउँथिन्, पुरस्कार हात पार्थिन् । तर, बुबाले विद्यालयको शुल्क नतिर्ने, खाताकिताब किन्न पैसा नदिने गर्दा उनको पढाइ अवरुद्ध भयो । पढाइमा निकै अब्बल रहेकी उनको पढाइ अघि बढ्न सकेन । घरमा बिजुली पुगेको थियो तर बत्ती बालेर पढ्न मनाही थियो । गरिबी, अपांगता र परिवारबाट अपहेलित हुनुपर्दाको पीडाको भारी बोकेर जसोतसो उनी अघि बढिरहिन् ।

एक दिन उपचार गराउने भन्दै फुपूले भारत लगिन्, जतिबेला उनी सात कक्षामा पढ्थिन् । खुट्टाले पूर्ण भर नदिए पनि फुपूको भरमा उनी पछि लागेकी थिइन् । जब भारत पुगिन्, फुपूबाटै आफू बेचिएको बल्ल थाहा पाइन् । ‘सल्यानका एक जनाले १० हजारमा किनेका रहेछन्,’ उनले सुनाइन्, ‘भारत पु¥याएपछि घना जंगलबीचमा टेन्ट टाँगेर बस्नुपर्ने हुन्थ्यो । मानिसको चहलपहल खास हुन्थेन । मान्छे भेटिए पनि भाषा नबुझिने । जंगली बाँदर भने रूखका हाँगामा यताउता गरिरहन्थे ।’

उनी फन्दामा परिसकेकाले उम्किने कुनै उपाय थिए । ११ वर्षको उमेरमा महिनावारी समेत नभएकी उनीमाथि पटक पटक बलात्कार भयो । ‘म एक्लो के गर्न सक्थें र,’ उनले सम्झिइन्, ‘पहिलो पटक बलात्कृत हुँदा रगताम्ये भएकी थिएँ । शरीर दुखेर सहन नसक्ने भएको थियो ।’ एक जनाबाट मात्रै होइन पुरुष समूहकै उनी ‘सिकार’ बनिन्न् । नाक र मुखबाट समेत रगत आउन थालेपछि दुई दिन अस्पताल बस्नुपरेको उनी बताउँछिन् ।

पछि फुपू दाङ फर्किइन् । तर उनलाई साथमा नदेखेपछि आफन्तले शंका गरे । राजनीतिक कार्यकर्ता समेत रहेकी उनकी ठूलीआमाले फुपूविरुद्ध प्रहरीमा उजुरी दिइन् । उनकै पहलमा भारतीय प्रहरीको सहयोगमा एक महिनापछि उनलाई नेपाल फर्काइयो । ‘मेरो शरीर छियाछिया भएको थियो,’ उनी भन्छिन्, ‘आँखामा रगत जमेका कारण एउटा आँखा देख्दिनथें । कान पनि कम सुन्ने भएकी थिएँ ।’

घर त फर्किइन् तर परिवार, साथीभाइ र छिमेकीले हेर्ने दृष्टिकोण बदलियो । समाजको आँखामा उनी ‘अपवित्र’ भइसकेकी थिइन् । दुर्वचन सहन नसकेपछि १२ वर्षको उमेरमा दुई जोर लुगा बोकेर उनी काठमाडौं पुगिन् । काम गरेर पेट भर्न पाए हुन्थ्यो भन्ने मात्रै उनको सपना थियो । तर, सोचेजस्तो भएन । सुरुवाती दिनमा एक होटलमा मासिक ३ सयमा भाँडा माझ्ने काम पाइन् । खानबस्न सुविधा थियो । बिहान ६ बजेदेखि राति १२ बजेसम्म काम गर्नुपर्ने । धेरै पानी चलाउनुपर्दा खुट्टामा घाउ देखिन थाल्यो ।

एक दिन सामान्य चिनजानकी दिदीले इँटा फ्याट्रीमा काम लगाइदिने भनेर सुनसरीको दुहबी पुर्‍याइन् । तर, दिदीबाट पनि उनी ठगिइन् । होटलमा बेचिदिएपछि फेरि उस्तै पीडादायी दिन सुरु भयो । दुहबीमै छँदा उनले यौन कर्म रोजिन्, १४ वर्षको उमेरमा । ‘ग्राहकले कम ड्रिंक गर्‍यो भने पिट्थ्यो,’ उनी भन्छिन्, ‘रजस्वला हुँदा समेत मैले उनीहरूलाई सन्तुष्टि दिनुपथ्र्यो ।’

शरीरसँग मात्रै प्रेम गर्नेहरू धेरै थिए । उनलाई भने बिहे गरेर घरजम गर्ने रहर पलाउँदै गयो । यो भुमरीबाट फुत्किएर उनले १५ वर्षको उमेरमा बिहे गरिन् । दुई वर्षपछि श्रीमानले छाडिदिए । ‘त्यसबेला गर्भमा तीन महिनाकी छोरी थिइन्, बच्चा जन्मँदा साथ दिने कोही थिएन,’ आँखा रसिलो पार्दै उनले सुनाइन् ।

यो दुःखमा श्रमिक महिला साझा मञ्चले भने उनलाई उनलाई ठूलो आड दियो । संस्थाले चिया पसल गर्न लगानी गरिदिएको थियो । दुई छाक धान्न सहज त भयो तर बच्चा सानो भएकाले उनले निकै अप्ठेरो भोग्नुपर्‍यो । तरकारी र कपडा पसलसमेत गरिहेरिन्, तर सम्भव भएन । उनको समयको घडी फेरि यौन कर्मतिरै फर्कियो ।

यही क्रममा एक दिन उनको भेट भयो, महिला सहयोगी समूहकी कार्यकारी निर्देशक विमला ठकुरी मल्लसँग । उनकै पहलमा यौन कर्ममा पूर्णविराम लाग्यो र विभिन्न संघसंस्थामा आबद्ध हुन पाइन् । कुनै समय चुरोट र मदिराको गन्ध, अपशब्द, ग्राहक र मालिकको पिटाइ उनको दैनिकीमा आइरहन्थे ।

हाल उनलाई ती दिन दुःखको ठूलो कहानी जस्तै भएको छ । अहिले उनी यौन पेसामा आबद्ध महिलाको हकहितमा काम गर्छिन् । महिला सहयोगी समूहकी अध्यक्ष समेत रहेकी उनी यौन कर्म छाडेर अन्य पेसा अँगाल्न चाहनेलाई सीपमूलक तालिमका लागि सहजीकरण गर्छिन् । ‘रहरले कोही यस पेसामा लाग्दैन,’ उनले भनिन्, ‘जोजो यस पेसामा छन्, उनीहरूलाई सीपमूलक कामका लागि मैले सकेसम्म सहयोग गरेकी छु ।’

महिला सहयोगी समूहकी कार्यकारी निर्देशक मल्लका अनुसार सम्बन्धविच्छेद गरेका अधिकतर महिला मनोरञ्जन र यौन पेसामा आइपुग्छन् । ‘बाध्यताले डिभोर्स भएका धेरैजसो महिलाको यो बाध्यता हो,’ उनले भनिन्, ‘उनीहरूलाई आत्मनिर्भर बनाउन र यो पेसाबाट छुटाउने राज्यले विशेष कार्यक्रम ल्याउनु जरुरी छ ।’ ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top