भैरहवालाई ललितपुरले दियाे १७८ रनको लक्ष्य

भैरहवालाई ललितपुरले दियाे १७८ रनको लक्ष्य

१४ असाेज, काठमाडौं ।

सान्दुन विराक्कोडीको अर्धशतकमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ ।

बिहीबार टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । यो यस सिजनकै सर्वाधिक ठूलो योगफल हो । यस सिजनमा यसअघि ललितपुरले काठमाडौंविरुद्ध पहिलो खेलमा १ सय ५७ रन बनाएको थियो ।

ललितपुरका लागि सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा कप्तान तथा ओपनर कुशल भुर्तेल २ रनमा रन आउट हुन पुगे । कुशल यसअघिका दुई खेलमा पनि सस्तैमा आउट भएका थिए । कुशल काठमाडौंसँग खेलमा गोल्डेन डक र पोखरा राइनोजसँग ३ रनमा आउट भए । दोस्रो विकेटका लागि दुई श्रीलंका ब्याटर फर्नान्डो र विराक्कोडीले ६६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ अघि बढाएका थिए ।

१७ औं ओभरको अन्तिम बलमा थर्डबाट रोहितले डाइरेक्ट थ्रोमा सन्दीपलाई रन आउट गराएका थिए । पवन सरार्फ १ रनमा बोल्ड आउट भए । योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । भैरहवाका अभिनाष बोहराले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, धाम्मिका प्रसाद, अभिनाष बोहरा र आरिफ शेखले १–१ विकेट लिए ।

अहिले भैरहवाले जवाफी ब्याटिङ गरिरहेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.