१९ असाेज, काठमाडौं ।
सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ। आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो ।
मन्त्रालय भागबण्डामा सहमति जुटेको र अब सबै दलले आन्तरिक तयारी गरेर शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।
सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछ । अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन् । कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन् । स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ ।
नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५-५ मन्त्रालयको नेतृत्व र १-१ राज्यमन्त्री पाउने सहमति बनेको छ । माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन् । माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ ।
नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ । माओवादी, नेकपा एस र जसपाले १-१ राज्यमन्त्री पाउने स्राेतले बताएकाे छ । त्यसो हुँदा वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्नुपर्ने वा जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था आउँछ ।