२३ असाेज, काठमाडाैं ।
नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्। शुक्रबार साँझ पदभार ग्रहणपछि उनले कर्मचारीलाई काम गरेर देखाउन निर्देशन दिएकी हुन्।
उनले मन्त्रालयको बजेट फिर्ता पठाउने अवस्था नआओस् भनिन्। प्रत्येक कर्मचारीले आफ्नो क्षमताले सकरात्मक परिणाम निकाल्नका लागि काम गर्नुपर्ने उनको निर्देशन थियो। मन्त्री झाँक्रीले भनिन्,’भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं । सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्यो भन्ने सुन्नु नपरोस् ।’
मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरुलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिइन्। मन्त्रालयबारे मन्त्रीलाई हुने ब्रिफिङ दसैं अगाडि नै सक्नुपर्ने उनले बताइन्।
‘मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्छ । मन्त्रालयमा ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ’ उनले भनिन् ।
मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नुपर्ने मन्त्री झाँक्रीको भनाइ थियो। उनले आयोजनामा रहेका नीतिगत समस्यालाई समाधान गर्न आफूले भूमिका खेल्ने पनि बताएकी छन्।