२४ असोज, सप्तरी ।
सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इन्द्रचौतारी चोकमा शनिवार बेलुका प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय छोरा घाइते भएका छन् ।
घाइते दुवै जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । बस र चालक दोलखाको कालीञ्चोक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।