२५ असाेज, काठमाडौँ ।
इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ती मध्ये एक हजार जनाको नाम गोलाप्रथाबाट छनोट गरिएको हो । मंगलबार इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ ।
इजरायले नेपालबाट एक हजार ‘एक्जुलरी वर्कर्स’ अर्थात् मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारको रुपमा लैजान एक वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा सुरुआतमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए ।
त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १६ सय जना छनोट भएका हुन् । त्यसमध्ये गोलाप्रथाबाट एक हजारलाई छनोट गरिएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट एक हजार जना नेपालीहरुको नाम आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरुको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जानको लागि तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल जान पाइँदैन ।