२६ असोज, बाँके।
बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले राप्तीसोनारीस्थित ८ परुवाखोला नजिकै सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ज्यान गुमाउनेमा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारु रहेका जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
पैदल हिंडिरहेका थारु र खड्कालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्तर्गत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेका थिए ।