२९ असोज, विराटनगर । नेपालमा गएको २४ घण्टामा २७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ४ हजार ७ सय १२ जनाको नमुना परीक्षण गर्दा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ४ हजार ५१६ पुगेको छ भने एन्टिजेन विधिबाट ९३ हजार ३४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७७७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ७९ हजार ९ सय ३१ पुगेको छ ।
यही अवधिमा थप ८ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ ।
अहिले नेपालमा १३ हजार ३०८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।