राष्ट्रिय फुटबल टोली भोली स्वदेश आइपुग्ने, विमानस्थलमा स्वागत गर्न आउन अलमुताइरीकाे आग्रह

३१ असोज ७८, आइतबार
Share this
735shares

३१ असाेज, काठमाडौं।

Advertisement

माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश आइपुग्ने भएको छ ।

राष्ट्रिय टोलीले आइतबार माल्दिभ्स छाड्नेछ । हवाईमार्गबाट कतारको दोहा हुँदै टोली सोमबार राती ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक शनिबार फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो ।

Advertisement

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका छन् ।

फाइनल पछि उनले भनेका थिए, ‘यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ । यदि यसै स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ । प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस् । ’

Advertisement

महिना दिन भन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्कदैछ । साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो । कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १–१ को बराबरी र दोस्रोमा भारत २–१ ले विजयी भएको थियो । माल्दिभ्स जानुअघि टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

साफ च्याम्पियनसिपमा यसपटक नेपालले दमदार सुरुवातका साथ यात्रा अघि बढाएको थियो । पहिलो पटक सुरुवाती दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top