१ कात्तिक, काठमाडौँ।
बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि भएको छ ।
नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । यसैगरी १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ । फुटकरको बहाना बनाउँदै न्यूनतम १८ रुपैयाँ भाडा अब २० रुपैया तिर्नुपर्ने देखिन्छ ।
यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।