जहाँ दलितलाई कुटी–कुटी मारिन्छ

२ कात्तिक ७८, बुधबार

चितवन : मानौं, कसैले रक्सी पिएर हल्ला गर्‍यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी ? यहाँ यस्तै घटना भएको छ। दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन्। उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ। यसो पिटेको खुत्रुक्कै गएछ।’

Advertisement

दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक। करिब डेढसय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन्। तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन। प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले।

हस्याङफस्याङ गर्दै ५७ वर्षीया विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो। अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चलेको सुनिन्। मनमा चिसो पस्यो। उनले अड्कल काटिन्, श्रीमान्ले संसार छाडेछन्। त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन्। सबैको घरमा दसंैको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ। न्यायका लागि हारगुहार गरिरहेको छ। प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर–४, दुर्गा चोकमा भीमहादुरलाई औषधि व्यवसायी दिलीप श्रेष्ठले थप्पड हानेका थिए। भुइँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो।

Advertisement

भीमबहादुरलाई त्यसअघि स्थानीय सीताराम बस्नेतले प्लास्टिकको पाइपले हिर्काएका थिए। श्रेष्ठ र बस्नेतको आरोप छ, ‘भीमबहादुरले मादक पदार्थ सेवन गरेर होहल्ला गरे, अपशब्द बोले।’

परिवार र आफन्तका अनुसार भीमबहादुरले करिब दुई वर्षदेखि रक्सी पिउन छाडेका थिए। प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले त्यस दिन रक्सी पिएको हालतमा भने देखेको बताए।

Advertisement

तर, रक्सी पिएर हल्ला गर्दैमा पिटिहाल्नु जायज नभएको उनीहरूको भनाइ छ। बस्नेतले पाइपले हान्दा पनि उनी गएनन्। त्यसपछि श्रेष्ठले थप्पड हान्दा विक भुइँमा बजारिए। उनको टाउको पिच सडकमा बजारियो र रगत आयो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनी अचेत भए। उपचारका लागि अस्पताल लैजाँदा उनको बाटामै मृत्यु भयो।

कुटपिटबाट मृत्यु भएको भन्दै मृतकका छोरा किसान विकले ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएका छन्। ‘हामी दलित, गरिब। यिनीहरूलाई पिटे पनि हुन्छ, जे गरे पनि हुन्छ भनेर पिटेका त हुन् नि ! अरू भएको भए यसरी कुट्न सक्थे होला त ?’ भीमबहादुरका छोरा किसानले भने, ‘जसरी हुन्छ, हामीलाई न्याय चाहियो।’,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top