४ कात्तिक, काठमाडौं ।
प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेका छन् ।
विशेष सुचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।
अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । पुनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको डीएसपी दीपक गिरीले जानकारी दिए ।