४ कात्तिक, काठमाडाैँ।
भारतमा कोरोना भाइरसविरुद्धमा एकसय करोडभन्दा बढी मात्रामा खोप लगाइएको छ । करिब १३० करोड जनसङ्ख्या रहेको भारतमा सो सङ्ख्यामा खोप लगाउन सकेको बताइएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार करिब १३० करोड जनसङ्ख्या भएको भारतीय नागरिकको सामूहिक एक्यबद्धताले मात्र सो खोप लगाउन सम्भव भएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सो सङ्ख्या नाघेपछि अस्पतालमा भ्रमण गरेका छन् । भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो ।
मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका ४५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो । अप्रिल १ गतेदेखि ४५ वर्षमाथिका सबैलाई खोप लगाउने व्यवस्था गरिएको थियो । त्यस्तै मे १ देखि १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो ।
छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएपछि भारतीय प्रधानमन्त्री मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका व्यक्तिप्रति आधार व्यक्त गरेका छन् । ‘भारतले इतिहास रचेको छ । भारतीय विज्ञान, इन्टरप्राइज र १३० करोड भारतीयको सामूहिक भावना विजयी भइरहेको देखिरहेका छौं’, मोदीको ट्विटर ह्वान्डलमा लेखिएको छ, ‘यो महान उपलब्धि हासिलका लागि क्रियाशील चिकित्सक, नर्स र अन्य सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’