१ नम्बर प्रदेशसभा बैठकद्धारा २ विधेयक पारित

१ नम्बर प्रदेशसभा बैठकद्धारा २ विधेयक पारित

विराटनगर, साउन १६
१ नम्बर प्रदेशसभाको आज बसेको बैठकले दुईवटा विधेयक पारित गरेको छ । यसअघि संसदमा प्रस्तुत भएको जिल्लासभाको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो ।

जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथि सांसदहरुले समितिमा लगेर छलफल गर्नुपर्ने माग गरेका थिए । सोहीअनुसार प्रदेशसभाको दोस्रो अधिवेशनको २१ औं बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई न्याय, प्रशासन तथा विधायन समितिमा दफावार छलफलका लागि पठाएको थियो ।

समितिले गरेको छलफल पछि जिल्ला सभाको अधिकार प्रदेशले खोस्न पनि नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय समितिले हस्तक्षेप गर्न नसक्ने भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।

संसदमा बोल्दै कार्कीले समितिमा पर्याप्त छलफल भएका कारण विधेयक अझ समृद्ध भएको बताए । विधेयक पारित हुनुअघिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सांसद विद्यानन्द चौधरी, रामबहादुर मगर र मोहनकुमार खड्काले समर्थन गरेका थिए ।

यसैबीच प्रदेशसभामा यसअघि नै प्रस्तुत प्रदेश वासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि कुनै पनि संशोधन नपरेपछि सर्वसम्मतिले पारित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.