८ कार्तिक, काठमाडौं ।
बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो ।
उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । आर्यनसँगै पक्राउ परेका एक व्यक्तिबाट ड्रग्स भेटिएपछि सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ ।
आर्यनको जमानत दुई पटक खारेज भएपछि उनको वकिलले मुम्बई हाइ कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदै छ ।
यसका साथै आर्यनको ह्वाट एप्समा बलिउड एक्ट्रेस अनन्या पाण्डेसँग भएको कुराकानीका आधारमा एनसीबीले घरमा छापा मारेर ल्यापटप र मोबाइल सिज गरेर बयानसमेत लिइसकेको छ ।
गतवर्ष कोरोनाभाइरसको महामारी केही समान्य हुँदै गर्दा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएर अगाडि आएको ड्रग्स केसमा केही बलिउड सेलिब्रेटीलाई एनसीबीले बयानको लागि बोलाएको थियो । दीपिका पादुकोण, सारा अलि खानलगायत बलिउडका चिनिएका अनुहारलाई एनसीबीले बोलाएर सोधपुछ गरेको थियो ।
केही समयअगाडि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियासमेत ड्रग्स केसमा परेका थिए । उनीहरूले आफुले ड्रग्स सेवन गर्ने गरेको बयानका क्रममा स्वीकारसमेत गरेका थिए । यद्यपि, उनीहरूलाई पनि कारबाही भएन ।
तर, पछिल्लो समय ड्रग्स केसमा जोडिएका आर्यनलाई एनसीबीले गरिरहेको कारबाहीले बलिउडमा त्रास फैलिएको छ । स्टारका छोराछोरी वा स्टार धेरै पार्टीमा पुग्ने गरेका छन् । उनीहरू पुगेको पार्टीमा कसैले ड्रग्स सेवन गरे, आफु पनि त ‘जेल’ पुग्नु पर्ने होइन ? भन्ने डर उनीहरूमा छ ।
‘हाम्रो बच्चाहरू धेरै पार्टीमा जाने गर्छन्, त्यहाँ कसैले ड्रग्स लिए पनि उनीहरू जेल पुग्न सक्छन’, एक स्टार पिताले भारतीय मिडियासँग नाम नखुलाउने शर्तमा भनेका छन् । उनले चर्चाकै लागि एनसीबीले बलिउडलाई टार्गेट गरिरहेको आरोपसमेत लगाएका छन् ।
’आर्यनले न ड्रग्स लिएका छन्, नत उनीसँग ड्रग्स नै भेटिएको छ । तर, पनि उनी तीन सातायता जेलमा छन्’ उनले भने, ‘आर्यन घटनाक्रममा एनसीबीको नियत राम्रो देखिँदैन ।’
पछिल्लो समय एनसीबीले बलिउडलाई टार्गेट गरेपछि बलिउडकर्मीहरूमा त्रास बढेको हो । बलिउडमा ड्रग्स कनेक्सनको खोजमा रहेको एनसीबीले लगातार आफ्नो कारवाही अगाडि बढाइरहेको छ ।