९ कात्तिक, काठमाडाैँ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन् । कार्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भुमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातिय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सो प्रावधानलाई पालना गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
उहाँले जातिय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताए । आगामी पुस्ताले जातिय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उल्लेख गरे । उनले भने – ‘जातिय विभेद गर्न पाइदैनँ भन्ने हाम्रो संविधानको प्रावधान हो । त्यसलाई पालना गर्न हामी प्रतिवद्ध छौँ । हाम्रो दिमागमा रहेको यो जातिय विभेदलाई कसरी सदाको लागि अन्त्य गर्ने, कमसेकम हाम्रै पालामा त्यो सकियो भने धेरै ठुलो उपलब्धी हुन्छ । आउने नयाँ जेनेरेशन, हामी पछिको जेनेरेशनले त्यो कुरा उठाउनै नपरोस् । त्यसमा समय खर्चै गर्नु नपरोस् भन्ने नै हामी सबैको मानसिकता हो ।’
गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनैपनि भुभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए । यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उनले उल्लेख गरे । उनले भने – ‘चाडपर्व मनाउने क्रममा नेपालको कुनैपनि भुभागमा कुनै खालको असमान व्यवहार नहोस् । त्यसका प्रति हाम्रो राज्यप्रणाली संवेदनशील छ । हाम्रो सम्बन्धित नियामक निकायहरुलाई र सुरक्षा निकायहरुलाई त्यही खालको परिपत्र गरेको हो । त्यसले एउटा नयाँ अनुभुति अवश्यपनि दिनेछ । हामी सबैलाई त्यसका प्रति उत्तरदायी पनि बनाउने छ ।’
उनले विपतबाट पीडित नागरिकहरुलाई सरकारले राहत तथा पुर्नस्थापना गर्ने पनि बताए। क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उनले बताए ।