न्यायाधीश राजीनामाको कुरा प्रणाली भत्काउने प्रवृत्तिको उपज हाे : माधव नेपाल

न्यायाधीश राजीनामाको कुरा प्रणाली भत्काउने प्रवृत्तिको उपज हाे : माधव नेपाल

११ कात्तिक, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् ।

समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष नेपालले न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि बताए ।

उनले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीमाना गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, ‘उहाँले (केपी शर्मा ओलीले) आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’

उनले ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताए । नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’

गठबन्धनमा कुनै पनि समस्या नरहेको उनको भनाइ छ । उनको अर्ली इलेक्सनको सम्भावना नरहेको बताउँदै सबै कुरा गठबन्धनभित्र छलफल गर्ने र आगामी निर्वाचनसम्म सहकार्य गर्ने बताए ।

नेता नेपालले समाजवादी पार्टीको संगठन विस्तार भइरहेको र आफ्नो पार्टीमा जनलहर आएको दावीसमेत गरे । ‘साझा विवेकशील पार्टीदेखि थुप्रै पार्टीसँग सहकार्य र एकताका लागि छलफल चलाइरहेका छौं,’ उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.