१३ कात्तिक, काठमाडौं ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदैछन् । उनी आज कतार एयरवेजमार्फत साँझ ७:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएकाे छ । उनले पनि फेसबुकमा हमाल इन्टरनेशनल एयरपोर्टमा फ्लाईट कुरिरहेको भनेर लेखेका छन् ।
प्रशिक्षक अल्मुताइरी साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै कतार पुगेका थिए । उतैबाट माल्दिभ्स पुगेर साफ च्याम्पियनसिप खेलाएका उनले नेपाललाई इतिहासमै पहिलो पटक फाइनलमा पुर्याएका थिए ।
साफ च्याम्पियनसिप सकिनुअघि नेपाल नफर्किने घोषणा गरेका प्रशिक्षक अल्मुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने निर्णय गरेका हुन् ।