विराटनगर,साउन २१
नवजात शिशुको मृत्यू भएपछि विराटनगरस्थित कोशी अंचल अस्पतालमा तीनदिन देखि जारी तनाव अन्त्य भएको छ । चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै आफ्न्तले शुक्रबारदेखि आन्दोलन गर्दै आएका थिए ।
आईतबार अस्पताल प्रशासन र पीडित पक्षबीचको छलफलमा तनाव अन्त्य गर्ने सहमति भएको हो । सहमति अनुसार पीडितका परिवारलाई कोशी अञ्चल अस्पतालले आजिवन निःशुल्क उपचार गरिदिने र घटनाको विषयमा छानविन गर्न ५ सदस्यीय समिति निर्माण गरेपछि विवाद साम्य भएको हो ।
समितिले ७ दिनभित्र घटनाको विषयमा छानविन गरी अस्पताललाई प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा अस्पतालले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिका लागि सामाजिक विकास मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ । सुत्केरी ब्यथा लागेर बिहीबार अस्पतालमा भर्ना भएकी मोरङ धनपालथान गांउपालिका ४ की आरती मरिकले शुक्रबार सांझ साढे ५ बजे नर्मलरुपमा शिशु जन्माएकी थिइन् ।
जन्मिएको केहिबेरमैं शिशुको अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा संलग्न चिकित्सकले अन्यत्र लैजान सिफारिस गरेका थिए । शिशुलाई विराटनगरकै सुरक्षा अस्पतालमा लगिएको थियो । शिशु लाने वित्तिकै अस्पतालले शिशुको मृत्यु भैसकेको र भर्ना नलिने जानकारी दिएपछि पीडित पक्ष आक्रोशित भएका थिए ।