२२ कात्तिक, काठमाडौं।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायपालिका संकटमा परेको बताएका छन्।
प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एसोसिएसनमा जारी अन्दोलनमा सोमबार अधिवक्ता त्रिपाठीले प्रधानन्यायाधीशको गैर न्यायीक आचरणले गर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए।
उनले बेञ्च बस्न नसक्नु र इजलास बहिष्कार हुनु सबैमा प्रधानन्यायाधीश दोषी रहेको बताए। राणाका कारणले नै आज न्यायालयले सम्मान गुमाएको बताउँदै उनी समस्या समाधान गर्ने नभइ निम्त्याउने व्यक्ति भएको बताए।
संवैधानिक प्रकृयामा गएर महाअभियोगबाट हटाउने टाढाको कुरा भएको भन्दै उनले राणाले इजलासनै चलाउन नसक्ने स्थिति आइसकेकाले नेतृत्वमा बस्न नसुहाउने बताए।
‘उहाँ जस्तो असक्षम र भ्रष्ट प्रधानन्यायाधीश अहिलेसम्म कोही पनि भएन। सम्मानजनक निकासका लागि सम्मानजनक काम पनि गरेको हुनुपर्यो नि!,’ उनले भने, ‘संवैधानिक निकायमा आसेपासे भरौटेलाई नियुक्त गर्नुभयो। मन्त्रिपरिषदमा भाग खोज्ने काम गर्नुभयो। भ्रष्ट र राष्ट्रले नचिनेका व्यक्तिलाई उहाँले संवैधानिक निकाय लगायतमा भर्ना गर्नुभयो।’
उनले राणाले राजीनामा नदिए देशभरका अदालतमा आन्दोलन अघि बढ्ने बताए। उनले भने ‘उहाँका कारण सिंगो न्यायापालिका नै धरापमा पार्ने काम भएको छ। प्रधानन्यायाधीशकै कारणले आज न्यायपालिका संकट ग्रस्त छ। एक मिनेट पनि प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन ।’