२२ कात्तिक, विराटनगर ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनका नेताहरुले झुटो बोलेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुको एमसीसीबारे राखेको जिज्ञासामा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका हुन् ।
उनले भने, ‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ । दुई जनामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’
उनले एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए । केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न आफू र प्रचण्डले हस्ताक्षर गरेर एमसीसी मुख्यालयलाई पत्र पठाएको बताएका थिए भने प्रचण्डले आफूले त्यस्तो पत्र नपठाएको दाबी गरेका थिए ।
यस्तै, ओलीले प्रतिनिधिसभा विघटन उल्टाउँदा देखिनै अदालतमा राजनीति घुसेको बताए । विघटन सम्बन्धी फैसलाले न्याय मरेको उनले बताए ।