२३ कात्तिक, धनुषा।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस धनुषाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्ला स्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए । प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए । “यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ”, उनले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उनले बताए ।
सदनको गतिरोध हटाउन उहाँले एमालेसँग आग्रह गरे ।